टेकराज अवस्थी
१७ श्रावण २०८० डडेल्धुरा
आयुर्बेद स्वास्थ्य उपचार पाए पछि डडेल्धुराका स्थानीय हर्षित भएका छन ।
वर्षौं देखि रसायनिक औषधिको सेवनले निको नभएका महिला तथा पुरुष बिरामीहरु जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा पुगेर निःशुल्क औषधि तथा औषधियुक्त वाफ लगाउने पद्धतिको पञ्चकर्म र सर्बाङ्ग स्नेस्वेदन (सेक्ने) उपचार पाए पछि आराम पाउनुका साथै खुशी पनि भएका हुन ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा अहिले बिरामीले २३ प्रकारका आयुर्बेदिक औषधिहरु सहित सेक्ने उपचार सेवा त पाएका छन तर दैनिक १० औं जना महिला तथा पुरुषको उपचार चाप केन्द्रलाई थेग्न नसकिने अवस्थामा पुगेको छ ।
दैनिक ३०÷३५ जना बिरामी आउने आयुर्बेद अस्पतालबाट सुत्केरी आमालाई दुग्ध बृद्धि गर्ने सताबरी बितरण (स्तनपाई) कार्यक्रम, जेष्ठ नागरिकलाई स्वस्थ जीवन कार्यक्रम अन्र्तगत शिलाजित र भिटामिन तथा पौष्टिकजन्य रसायन बाजीकरण औषधि बितरण जस्ता सेवाले आयुर्बेदिक औषधि तथा उपचार प्रति सर्बसाधारणको आकर्षण बढदै गईरहेको अस्पतालका आयुर्बेद चिकित्सक सत्यराज जोशीले जानकारी दिनु भयो ।
जिल्ला समन्वय समिति डडेल्धुराको परिसर भित्रै रहेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रमा संघिय तथा प्रदेश सरकारबाट अल्ट्रासाउण्ड, डिजिटल ल्याब तथा शारिरिक अभ्यास (जिम) गर्ने जस्ता सेवाहरु पनि संचालन गर्न आवश्यक तयारी भईरहेको भए पनि अस्पताल पुग्ने बाटोको असहजतासँगै भौतिक पूर्बाधार तथा गुणस्तरिय औषधिको समय समयमा अभाव हुँदा बिरामीहरुलाई सेवा दिन समस्या हुने गरेको निमित्त कार्यालय प्रमुख निशान्त शर्माले बताउनु भयो ।
बिरामीको आकर्षण र उपचार सेवाको प्रभाबकारितालाई हेर्दा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रलाई केन्द्रमा सिमित नराखी अस्पतालको रुपमा विकास गर्नु पर्ने देखिएको सेवाग्राहि प्रकाश पाठकले बताउनु भयो ।
शारिरिक अशक्तता भएका पञ्चकर्म अमरगढी नगरपालिका वडा नं. ९ लटसेराका अजब सिंह भाटले सर्बाङ्ग स्नेस्वेदन उपचार गराउँदा आफूलाई स्वास्थ्यमा सञ्चो हुँदै गएको बताए । उनले भने कोर्ष बमोजिम उपचार गराउँदा एकदमै ठिक हुँदो रहेछ ।
केन्द्रमा आजभोली स्नेस्वेदन उपचारका लागि महिलाहरु पनि आउँछन उनिहरु उपचारबाट खुशी भएका छन म पनि स्नेस्वेदन उपचार गराउँदैछु निको भईरहेको छ भन्नुहुन्छ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत गोमति बस्नेत ।
यस्तै अमरगढी १ मालमबाट उपचारका लागि आयुर्बेदमा आएकी लक्ष्मी देवी तमोलीले पनि आफूलाई कम्मरको र खुट्टाको समस्या थियो उपचार पाए पछि ठिक हुँदै गएको बताईन ।
बिभिन्न उपचार सेवा तथा सुबिधा प्रभाबकारी हुँदै गएको आयुर्बेद स्वास्थ्य केन्द्रमा जाने बाटो असुबिधायुक्त हुँदा बिरामीलाई आवतजावतमा जोखिम बढदै गईरहेको प्रति कुनै पनि निकायको ध्यान गएको छैन ।
नगर भित्रका सरकारी स्वास्थ्य सेवामा देखिएका अभाब, समस्याहरु सम्बोधन गर्न र बढि भन्दा बढि सुबिधायुक्त बनाउन अमरगढी नगरपालिकाको बढि दायित्व हुनु पर्ने हो तर अहिले सम्म कसैले नहेरेको एक कर्मचारीले बताए ।
केन्द्रमा जिल्लाका बिभिन्न स्थानबाट आउने बिरामी मध्ये ७० प्रतिशत सेवाग्राही महिला र समग्र बिरामी मध्ये ८० प्रतिशत बिरामी नगरपालिका क्षेत्रबाट आउँदा पनि अमरगढी नगरपालिकाको ध्यान नगएकोमा कार्यरत कर्मचारीले गुनासो गरे ।
बिरामीको तथ्यांकलाई दृष्टिगत गरि केन्द्रलाई कम्तीमा ५० शैयाको अस्पताल निर्माण तथा सामान्य चोटपटकको उपचार पनि गर्न सकिने ड्रेसिङ रुम तथा सामान्य शल्यक्रिया गर्न सकिने संरचनाको विकास गर्नु जरुरी रहेको आयुर्बेद चिकित्सक जोशी बताउँछन ।
कार्यालय तथा सेवा प्रदान गर्ने स्थान पायक पर्ने गरि बिरामीमैत्री छैन, बाटो खतरा छ, भवन अभाव छ, तैपनि केहि वर्ष अगाडी भन्दा अहिले सुबिधा थपिदै गएको छ अझै यसलाई थप सुबिधाजनक र आकर्षक बनाउँनु जरुरी देखिएको छ ।






