अखण्ड सम्बाददाता
१२ फागुन २०८२ डडेल्धुरा
अघिल्लो स्थानीय निर्वाचनमा गरिएको प्रतिबद्धता वेवास्ता गरेको भन्दै डडेल्धुराका मतदाताले फागुन २१ मा मतदान नगर्ने बताएका छन ।
२०७९ को बैशाखमा सम्पन्न स्थानीय र मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मत माग्न घरदैलोमा आई विकासका मुद्दामा गरिएको बाचा खै ? भन्दै अमरगढी नगरपालिका वडा नं. १ का सर्बसाधारण तथा मतदाताले आक्रोस व्यक्त गरेका हुन ।
सदरमुकामबाट करिब ३ किलोमिटर मात्र टाढा रहेको अमरगढी नगरपालिका वडा नं. १ मालम, स्याउले बजार, डकलखेत र कुणका मतदाताले अघिल्ला चुनावमा गाउँ जाने बाटो स्तरोन्नती, खानेपानी व्यवस्थित, स्वास्थ्य सेवा लगायत आधारभूत सुबिधाका लागि माग गरे पनि कुनै पनि निर्वाचनका उम्मेदवार, विभिन्न तहका सरकार र जनप्रतिनिधिले वास्ता नराखेको स्थानीय महिलाहरुले बताए ।
सडकको अवस्था कच्ची र खोलाको जोखिम भएकाले यस क्षेत्रका जनताले वालवालिकालाई पिठ्युँमा बोकेर बिद्यालय पुगाउनु पर्ने बाध्यता रहेको स्थानीय रोशनी ऐरले बताए, उनले भनिन महाभारत पर्वत श्रृंखलाको फेदमा रहेको यो गाउँमा खानेपानीको श्रोत छन तर गाउँमा एउटा पनि खानेपानीको धारा छैन, बाटोको अवस्था डरलाग्दो छ, यहाँ चुनावका बेला मात्र गाडी दौडिन्छन अगाडी पछाडी लोकल गाडीहरु आउन मान्दैनन, आए पनि जोखिमपूर्ण हुने र बुकिङ गर्दा अत्यधिक महंगो पर्न जान्छ तर अमरगढी नगरप्रमुख डिल्लीराज जोशीको यो गाउँमा पूर्बाधार विकासको अनुभचूति गर्न सकेनौ यस बारेमा पटकपटक भन्दा पनि सुनुवाई भएन ।
फगुन २१ का लागि मत माग्न घरदैलोमा भेटघाटका लागि पुगेका हरेक उम्मेदवार प्रति रोष प्रकट गर्दै अगाडी पछाडी आउँदै नआउँने , निर्वाचनका बेला मात्र भेट गर्न आउने र त्यस पछि फर्केर पनि नहेर्ने प्रबृति प्रति गुनासो सहित यस क्षेत्रका जनताले आगामी निर्वाचनमा मत हाल्न नजाने घोषणा पनि गरेको स्थानीय गगन खडकाको भनाई छ ।
अघिल्लो स्थानीय तहको चुनावमा सडक स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरियो र सो अनुरुप बजार नजिकै चालिसमोडबाट प्रस्तावित कालोपत्रे सडकको नापजाँच कुण खोलाको पुल सम्म भएको आफूहरुले थाहा पाएको तर अमरगढी नगरपालिकाले सडक बनाउँदा मेयरको गाउँ मौरडा सम्म मात्र बनाउन लागेको भन्दै आफूहरु माथी अन्याय भएको एक स्थानीय युवाले बताए ।
यस्तै अमरगढी १ मालम दशकौं देखि जनप्रतिनिधिबाट उपेक्षित ठूलो बस्ती हो, यो गाउँमा तमोली, बिष्ट, दियाल र दलित समुदाय टमटा र सार्की गरि करिब ७०० घरधुरी रहेको मालममा वर्षौं देखि उपेक्षित गाउँ हो, यो गाउँका स्थानीयले २०६४को पहिलो संबिधान सभा निर्वाचन देखि २०७९ को स्थानीय र प्रतिनिधि सभा र प्रदेश सभा सदश्य निर्वाचनमा खानेपानीलाई पहिलो शर्तको रुपमा एक सुत्रिय माग राखे पनि कहिंकतैबाट सम्बोधन नभएको स्थानीय युवा समाजसेवी सुरत तमोलीले बताए ।
गाउँमा केहि वर्ष अगाडी कृषि उत्पादनलाई बजारमा ल्याई बिक्रिा गरि जिविकोपार्जन गर्नै मालमका जनता अहिले जंगली जनाबर बँदेल र बाँदरको आतंकका कारण खेतीपातीमा समस्या आएको छ, गाउँ ठूलेो छ, पानीको व्यवस्था नहुँदा खानेपानीका पाईपहरु छरपष्ट बाटोमा अस्तव्यस्त छन, पानीको चुहावटले बाटो नै हिंडडुल गर्न समस्या छ, बाटो छैन, पानीका मुहान संरक्षण र मर्मत संभार छैन, खानेपानी छैन भने पशुपालन कसरी गर्ने ? भन्दै गुनासो गरेका छन ।
गाउँमा फोहर व्यवस्थापनको विषय पनि भयाभय छ, घरमा युवा छैनन सबै बिदेशिएका छन, गाउँघरमा जेष्ठ नागरिक र महिला तथा वालवालिकाहरु मात्रै छन, उनिहरुको सामान्य समस्या पनि समाधान हुँदैन भने पटकपटक भोट हालेर के गर्नै भन्ने मनस्थितिमा रहेको एक महिलाले बताईन ।
उहाँले यस अघिका स्थानीय र माथिल्ला सबै निर्वाचनमा निर्वाचनमा संभावित विजेता उममेदवारलाई गाउँको एकमुष्ठ मतदान गरेको तर जनताका आधारभूत आवश्यकता र मागहरुलाई वेवास्ता गरेकोले यस पटक मतदान परिवर्तन गर्ने र कार्यान्वयन हुन सक्ने गरि प्रतिबद्धता गर्नैलाई मत व्यक्त गर्ने गाउँका जनताको मनसाय रहेको बताए ।
अमरगढी नगरपालिकाको वडा नं. १ को सिमान्तकृत बस्ती कुणका स्थानीय खडकाका अनुसार सदरमुकामको नजिकै रहेको यो गाउँमा कहिले पनि जनप्रतिनिधिहरु आउँदैनन, स्थानीय वडाका जनप्रतिििनधि पनि आउँदैनन, अध्यक्षको दोश्रो कार्यकाल हुँदा पनि दुई पटक भोट माग्न बाहेक अन्य समयमा गाउँबस्तीमा अनुहार सम्म देख्न पाईएको छैन, हाम्रा मागहरु वडास्तरमा पनि सुनुवाई भएन, सामान्य योजनाहरु पनि अमरगढी नगरपालिकाबाट सम्बोधन नभए पछि गाउँका महिला पुरुष आक्रोसित हुनु स्वभाविकै भएको बताउँछन ।
गाउँका महिला भन्छन गाउँमा विद्यालयको कुरा त परै जाओस वाल विकास सम्म छैन, स्वास्थ्य संस्था छैन, वडा कार्यालय स्याउले र अमरगढी नगरपालिकाको कार्यालय पुग्न दुई घण्टा हिंडनु पर्छ, सामान्य उपचारका लागि पनि सदरमुकाम जानु पर्छ, बिरामी र सुत्केरी महिलालाई हुने दुःख प्रति कुनै सरकारले हेरेन भन्दै चुनाव जिते पछि नेताहरु गायब हुने गरेको तितो अनुभव र कारुणिक कथा व्यथा सुनाए ।
आफूहरुले हरेक निर्वाचनमा एक घण्टा पैदल हिंडेर मतदान गरेको तर त्यसको प्रतिफल सन्तोषजनक नरहेको बताउँदै गाउँको बिचमा रहेको डोटी खोलाको सिरान खोलामा वर्षातमा पानीको सतह बढछ तर पुल छैन, काठे पुल छ तर जिर्ण अवस्थामा छ, गाउँमा पञ्चायतकालिन र पुरानो खानेपानीका धाराहरु छन तर मर्मतसंभार नहुँदा अस्तव्यस्त र कुनै बेला त हाहाकार हुने अवस्था हुँदा पनि स्थानीय सरकार अनभिज्ञ जस्तै छ भन्दै सबै उम्मेदवार उस्तै त हुन चुनावका बेला सबै काम गरि दिने बाचा गर्छन चुनाव सकिए पछि बिर्सिन्छन ।
उता अमरगढी नगरपालिका वडा नं. ६ का स्थानीय जनताले पनि फोहरको उचित व्यवस्थापनको विषयलाई लिएर निर्वाचन बहिष्कारको घोषणा नै गरिसकेका छन, अमरगढी नगरपालिकाले साबिक डम्पिङसाईडमा जग्गा खरिद गरे पनि योजना परिवर्तन गरेको र प्रदुषण फैलिने डरले वातावरणिय प्रभावलाई दृष्टिगत गरि समस्या समाधानका लागि पहल नगरेसम्म वडाको ठूलो बस्ती छचोडा र दमडाका स्थानीयले निर्वाचनमा भाग नलिने भन्दै सार्बजनिक रुपमा नै बहिष्कार गरेका हुन ।
यसरी सबै तिर निरासाका बिचमा विभिन्न तहका निर्वाचनमा मत माग्न जाने तर निर्वाचित भए पछि जनताका ईच्छा आकांक्षा आवश्यकता र मागहरुका विषयमा उम्मेदवार तथा जनप्रतिनिधिले देखाएको उदासिनताले विद्यमान राजनीति, देशको अवस्था र निर्वाचन प्रति बितृष्णा फैलिनुका साथै स्थानीय मतदातामा उत्साह र विश्वासकोे वाताबरण सिर्जना हुन सकिरहेको छैन ।






