अखण्ड सम्बाददाता
५ श्रावण २०८३ डडेल्धुरा
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा आयुर्वेद स्वास्थ्य उपचार तर्फ विरामीको आकर्षण उल्लेख्य रुपमा बृद्धि भएको छ ।
दैनिक लगभग ३५ जना विरामीको उपचार सेवा पु¥याईरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुरामा भौतिक संरचना अभावले गर्दा सेवाग्राहीले पर्याप्त सेवा पाउँन सकिरहेका छैनन ।
२०५२ सालमा कार्यालय स्थापना र २०५८ सालमा निर्माण भएको यो पुरानो भवन तथा स्वास्थ्य केन्द्रमा विगतको तुलनामा आयुर्वेद स्वास्थ्य उपचारका लागि विरामी आउने गरेकोले केन्द्रले स्नेहन र स्वेदन पद्धतिलाई निःशुल्क रुपमा सेवा सुबिधा प्रवाह र बिस्तार गरे पछि वर्षेनी हजारौं विरामी लाभान्वित भईरहेको अस्पतालका सूचना अधिकृत खेमराज पनेरुले जानकारी दिएका छन ।
दिन प्रतिदिन बढदै गईरहेको नसर्ने प्रकारका रोगहरुको उपचारलाई योग तथा आयुर्वेदका माध्यमबाट जनस्तरसम्म प्रचार गरेकोले ग्रसित रोगको उपचारका लागि आयुर्वेदमा पुग्ने विरामी खुशी र हर्षित पनि भएका छन ।
नेपाल सरकारले आयुर्वेदको उपचारलाई अत्यावश्यक स्वास्थ्य सेवा अन्र्तगत घोषणा गरे पछि शारिरीक र मानसिक स्वास्थ्य समस्याबाट जुँधिरहेका विरामीलाई केन्द्रबाट राहत मात्र भएको छैन आयुर्वेदिक औषधि र उपचार पद्धति प्रतिको विश्वास पनि अभिबृद्धि भएको छ ।
अहिले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुरामा ३५ प्रकारका औषधिहरु विभागबाट र अन्य आवश्यकिय औषधिहरु प्रदेश सरकारको बजेट मार्फत कार्यालयले खरिद गरि जनतालाई सेवा दिईरहेको भए पनि भौतिक पूर्बाधारको अभावमा विरामीको चाप र आवश्यकता अनुसार सेवा दिन नसकिएको कार्यालय श्रोतले जनाएको छ ।
कार्यालयले संचालन गरेको भिडियो एक्सरे र प्रयोगशालाको सेवा पनि व्यवस्थित भवन नहुँदा संकुचनमा परेको छ भने कतिपय जटिल किसिमका र विरामी थेग्न नसकिएको अवस्थामा विरामीलाई केन्द्रबाट रिफर गर्नु पर्ने बाध्यता रहेको छ तर गत दुई वर्षमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट भवन निर्माणका लागि विनियोजन भएको रु २ करोड रकम बजेट सुनिश्चितता नहुँदा फ्रिज भएको थियो ।
कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ मा ६४०६ महिला र ५९०६ गरि जम्मा १२३१२ जना विरामीको उपचार गरेको छ जसमध्ये सबै भन्दा बढि जेष्ठ नागरिकले औषधिय सेवा र उपचार सुबिधा प्राप्त गरेका छन । गत वर्ष सोहि अबधिमा ५२३६ महिला र ४८१६ पुरुष गरि जम्मा १००५२ जनाले सेवा प्राप्त गरेको कार्यालयले जानकारी दिएको छ ।





