अखण्ड सम्बाददाता
२१ अषाढ २०८३ डडेल्धुरा
विगत एक दशकमा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा आलु खेती दोब्बर उत्पादन भए पछि आत्म निर्भर हुनुका साथै ४० प्रतिशत निकासी गर्न सफल भएको छ ।
प्राकृतिक तथा भौगोलिक अनुकुल हावापानी एवं जैबिक बिबिधताका साथै कृषि पर्यटन व्यवसायिक क्षेत्रको प्रचुर संभावना बोकेको डडेल्धुराम आ।व। २०७३/०७४ मा शुरु भएको आलु सुपर जोन कार्यक्रम मार्फत डडेल्धुराका परम्परागत कृषकलाई आधुनिकिकरण गर्दै प्रत्येक वर्ष आलु उत्पादन बृद्धि हुँदै गएको छ ।
वीउमा उपलब्धतामा सहजता, वीउमा अनुदान, शितभण्डारमा वीउ तथा खायन आलु संचित, आलु विमा, आवश्यकतामा आधारित सिंचाई व्यवस्था, विभिन्न यान्त्रिकरण तथा औषधि विषादी, तालिम अवलोकन भ्रमण, प्राबिधिक परामर्श सहयोग लगायत विभिन्न प्रबद्र्धनात्मक कार्यक्रम संचालन भए पछि आलु खेती गरिरहेका डडेल्धुराका कृषकहरु व्यवसायिक आलु खेतीतर्फ आकर्षित हुँदा प्रत्येक वर्ष आलु उत्पादन बृद्धि हुँदै गएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन ईकाई कार्यालय डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०८२/०८३ मा हिउँदे र वर्षे गरि दुवै मौसममा गत वर्ष भन्दा ३० दशमलब ८३ प्रतिशत अर्थात ८८२० मेट्रिक टन उत्पादन बृद्धि भएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा हिउँदमा ७२२ हेक्टरमा २३८२६ मेट्रिक टन र वर्षे आलु खेतीमा ४०० हेक्टरमा १३६०० मेट्रिक टन गरि जम्मा ११२२ हेक्टरमा ३७ हजार ४२६ मेट्रिक टन को हिउँदे आलु रु. २२ रुपैयाँ र वर्षे आलुमा रु. २५ का दरले बिक्रि गरि जम्मा ८६ करोड ४१ लाख ७२ हजार को आम्दानी भएको कार्यालय तथ्यांङ्कले जनाएको बताईएको छ ।
यसै गरि आर्थिक वर्ष २०८१/०८२ मा हिउँदमा ७२२ हेक्टरमा १६६०६ मेट्रिक टन र वर्षे आलु खेतीमा ४०० हेक्टरमा १२००० मेट्रिक टन गरि जम्मा ११२२ हेक्टरमा २८ हजार ६०६ मेट्रिक टन बाट हिउँदे र वर्षे आलुमा रु. २५ का दरले बिक्रि गरि जम्मा ७१ करोड को आम्दानी भएको थियो ।
१० वर्ष देखि हुँदै आईरहेको आलु खेतीका लागि तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले १२१ हेक्टरमा कार्य शुरु गरेको डडेल्धुरामा आ.व. २०८२/०८३ मा आएर ११२२ हेक्टरमा आलु खेती भईरहेको कार्यालयले जनाएको छ ।
डडेल्धुरा जिल्लामा शुरुका वर्ष १४ थान हाते ट्रेक्टर (मिनिटिलर) बितरण गरेको कार्यक्रमले २०८२/०८३ मा आएर ५० प्रतिशत अनुदानमा १०९७ थान हाते ट्रेक्टर वितरण गरिएको छ भने कृषकलाई विभिन्न सहयोग र बजारीकरण सहजिकरणमा समेत सहयोग गरे पछि कृषकहरु आकर्षित र उत्साहित भएर आलु खेतीमा सक्रिय भएका छन ।
पहाडी भूगोल अन्र्तगत तरकारी वालीमा अग्रणि रहेको डडेल्धुराका लेकाली मध्य पहाडी र तराई जस्तै भुगोल रहेको भित्रिमधेशमा दुई दशक देखि नगदे वाली तथा तरकारी खेतीमा किसानहरुले डडेल्धुराको पहिचान बनाउने गरि उपलब्धी हासिल गरेका छन ।
आत्मनिर्भरताका लागि दिगो आयआर्जन संभावनालाई दृष्टिगत गरि डडेल्धुराका सात वटै स्थानीय तहहरुमा लागु भएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमलाई आत्म साथ गर्दै क्रियासिल रहेका डडेल्धुराका आलु उत्पादक किसानहरुले आलु खेतीलाई बिस्तार र व्यवसायिक आलु उत्पादन क्षेत्रको रुपमा अगाडी बढाएका छन ।
जिल्लाको अमरगढी नगरपालिका, परशुराम नगरपालिका र आलिताल, गन्यापधुरा, नवदुर्गा ,भागेश्वर र अजयमेरु गाउँपालिकाका बिभिन्न वडाहरुमा आलु सुपर जोन कार्यक्रमहरु डोटी र बैतडी जिल्लाका आलु उत्पादक कृषकहरुलाई समेत केन्द्रित गरि संचालन भई रहेका छन ।
आलु उत्पादनबाट सैंयौं युवा कृषक व्यवसायि लाभान्वित भएका छन भने कार्यक्रम मार्फत किसान परिवार र युवाहरु प्रत्यक्ष एवं परोक्ष रुपमा लाभान्वित रहुनुका साथै रोजगारीका अवसरहरु पनि सिर्जना पनि भएका छन ।
डडेल्धुरामा उत्पादन भएको आलु ६० प्रतिशत आन्तरिक अथवा ५१ करोड ४० लाख बराबरको आलु स्थानीय बजारमा खपत भएको छ भने ४० प्रतिशत अर्थात ३५ करोड एक लाख बराबरको आलु बाह्य निकासी पनि भएको छ ।
आलु उत्पादन र बजारीकरणको सुबिधाका लागि समेत अत्यन्त संभावना रहेको डडेल्धुरामा शुरुका वर्ष प्रति हेक्टर १७ मेट्रिक टन उत्पादन हुने गरेको आलु पछिल्लो समय आलु खेती फष्टाउँदै गए पछि प्रति हेक्टर ३४ मेट्रिक टन उत्पादन पुगेको छ ।
जिविकोपार्जनका लागि रोजगारीको लागि बिदेशिएका युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित बनाउन कार्यान्वयनमा रहेको कार्यालयले आलु उत्पादनका लागि संभावित भुगोल र सक्रियतालाई अध्ययन गरि हिउँदे र वर्षे गरि दुई मौसममा चक्लाबन्दीमा आबद्ध भई व्यवसायिक रुपमा हजारौं क्वीन्टल आलु उत्पादनबाट कृषकहरु अझै उत्साहित र मनग्गे आम्दानी गर्न सफल भएको अगुवा कृषक प्रकाश बहादुर ऐरले बताए ।
बिगतमा आलु खेती र व्यवसायिक उत्पादन नगण्य रुपमा हुने गर्दथ्यो, कार्यक्रम संचालन भए पछि कृषकको लगनशिलता र परियोजनाको सहयोगले उत्पादकत्व र उत्पादन पनि प्रति हेक्टर लक्ष्य भन्दा माथी प्रतिफल प्राप्त भएको अगुवा कृषक तथा कृषक पाठशालाका प्रशिक्षक पदम बहादुर ऐर बताउँछन ।
किसानहरुले परम्परागत कृषि प्रणालीलाई परिबर्तन गर्दै अबलम्बन गरेको आलु खेतीमा उन्नत प्रबिधि मल्चिङ, क्रंक्रिट पोखरी, लिफ्ट सिंचाई प्रबिधि, प्लाष्टिक पोखरी, हाते पावर ट्रेलर, स्प्रेयरहरु, रोग किरा तथा संक्रमण रहित पूर्व मूल बीउ (एद्यक्) उत्पादन गर्ने स्क्रिन हाउसको स्थापना र स्तरोन्नती लगायत यान्त्रिकरण परामर्श एवं लगानीमा आधा अनुदान सहयोग पाए पछि व्यवसायिक आलु खेती प्रबद्र्धन तथा बिस्तार हुनुका साथै जिल्लाको कृषि विकासमा टेवा पुगेको सरोकारवाला निकायको भनाई छ ।
अन्य तरकारी खेती जस्तै आलु उत्पादनका लागि अनुकुलन रहेको डडेल्धुरामा आलु सुपर जोन परियोजना ईकाई कार्यालय मार्फत कार्यालयले संचालन गरेका कार्यक्रमहरुले स्थानीय तहहरुलाई पनि किसान लक्षित योजना तर्जुमा गर्न सहज भएको र कृषकहरु लाभान्वित भएका छन ।
व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न, किसानहरुको उत्पादनलाई स्वस्थ र सुलभ बजारीकरण गर्न तथा उपभोक्ताको मागलाई नियमित र आत्मनिर्भर बनाउन स्थापना भएको उग्रतारा शित भण्डारको पूर्णता लगायत आलु खेतीलाई डडेल्धुराको मुख्य नगदे वालीको रुपमा विकास गरिन थाले पछि प्रभाबकारीता देखाउन थालेको ईकाई कार्यालय डडेल्धुराका प्रमुख बस्नेत बताउनु हुन्छ ।
नियमित आलु खेती तथा लामो समय देखि देखि बाँझो रहेको उत्पादनशिल जग्गा लगायत नियमित खेती किर्सानी कर्मलाई प्रबिधिमैत्री गरि उन्नत र गुणस्तरिय उत्पादन प्रबद्र्धन गर्न कार्यालयले निर्वाह गरेको भुमिका र किसानहरुको पसिनाको प्रतिफलले जिल्लामा कृषि भौतिक पूर्बाधार निर्माण सँगै आलु उत्पादनमा डडेल्धुरासँगै सुदूरपश्चिम प्रदेशको आत्म निर्भर क्षेत्र स्थापनाका लागि अग्रसर भएको देखिन्छ ।





