अखण्ड समबाददाता
०४ चैत्र, २०८२ डडेल्धुरा
कृषि उपजलाई व्यवस्थित गर्न तथा उपभोक्ताको हितलाई दृष्टिगत गरि डडेल्धुरा जिल्लामा कृषि थोक तथा हाट बजार संचालन हुने भएको छ ।
डडेल्धुरा जिल्लामा रहेका कृषि सम्बन्धि सम्पूर्ण सरोकारवाला निकायको पहल तथा सर्ब पक्षिय छलफलमा २०८२ चैत्र १४ गते शनिवार देखि निर्माण व्यवसायी संघको भवन अगाडी रानीधारा तर्फको प्रति जग्गामा फिल्ड निर्माण गरि हाट बजार संचालन गर्ने निर्णय गरिएको छ ।
बैठकले अमरगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षतामा जिल्लाका अजयमेरु, नवदुर्गा र भागेश्वर गाउँपालिकाका प्रतिनिधि सहित १९ सदश्यीय हाट बजार संचालन समिति र हाट बजार संचालनमा आवश्यक सहयोग, सुझाव सल्लाह, परामर्श र समन्वयका लागि अमरगढी नगरपालिकाका नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी सदश्य रहने गरि जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीको संयोजकत्वमा तिन सदश्यीय अनुगमन समिति पनि गठन गरेको छ ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुको अध्यक्षतामा सम्पन्न भएको डडेल्धुराका कृषि थोक तथा हाट बजार संचालन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा डडेल्धुरा जिल्लाको कृषि उपज पहिचानका लागि हाट बजार अपरिहार्य रहेको भन्दै यसको दिगोपनाका विषयमा सबै सरोकारवाला निकाय, कृषक, कृषि व्यवसायी लगायत उपभोक्ता जिम्मेवार हुनु पर्ने,हाट बजारलाई प्रभावकारी रुपमा व्यवस्थित गर्नु पर्ने, कृषकलाई उत्प्रेरणामूलक ढंगले सहभागि गराउनु पर्ने, कृषि उपजलाई भवष्यमा बजार सुनिश्चितताका लागि कृषि बजारको रुपमा स्थापना गर्न आवश्यक रहेको सहभागिले सुझाव दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले हाट बजार डडेल्धुराको आवश्यकता हो, यसलाई सबै पक्षले ईमान्दारितापूर्वक कार्यान्वयन गरिनु पर्छ, हाट बजारले डडेल्धुराको अहिलेको उत्पादनलाई रोजगारीसँग जोडने र भविष्यमा कृषि पेशालाई आकर्षित र उत्साहित बनाउने धारणा राख्नु भयो ।
यस्तै डडेल्धुरा जिल्ला सदरमुकाम सुदूरपश्चिमका सबै जिल्लासँग भौगोलिक रुपमा जोडिएकोले यहाँ हाट बजार तथा थोक बिक्रिको कृषि बजार राम्रोसँग संचालन हुनेमा विश्वास व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईरालाले सबै पक्षले आ–आफ्नो तर्फबाट सक्रियता देखाए संभव हुने बताउनु भयो ।
छलफलमा स्थानीय तह अन्र्तगतको कृषि उपजलाई व्यवस्थित र सञ्चालन गर्ने संबैधानिक अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिएको भए पनि स्थानीय पालिकाले स्थानीय आवश्यकतालाई ध्यान नदिएको सहभागिले गुनासो गरेका छन, साथै जग्गा उपलब्धता र आवश्यक सहजिकरणमा अमरगढी नगरपालिका तथा सम्बन्धित वडा कार्यालयलाई हाट बजार संचालन तथा व्यवस्थापनको जिम्मेवारी सर्बपक्षिय बैठकले दिएको छ ।
डडेल्धुरा जिल्ला सदरमुकाममा २०६५ सालमा पनि हाट बजार संचालन भई संरचना तथा पूबाृधार निर्माणमा राज्यको ठूलो लगानी भयो तर त्यो दिगो र प्रभावकारी हुन नसकेको अनुभूति सबैमा छ, तर कृषकले उचित मूल्य तथा बजार र उपभोक्ताले सुपथ मूल्यमा तरकारी लगायत कृषि बस्तु नपाउने समस्या समयसमयमा उजागर हुने गरे पनि सम्बोधन हुन नसक्दा ढिलै भए पनि हाट बजार संचालनको निर्णय सकारात्मक रहेको सरोकारवालाले बताएका छन ।
कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला सरकारी निकाय, उद्योग बाणिज्य संघ, कृषि सम्बन्धित विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार महासंघ तथा क्रियासिल सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।






