अखण्ड सम्बाददाता
४ फागुन २०८२ डडेल्धुरा
बहुचर्चित डडेल्धुरा मेडिकल कलेज बजेट अभाव छिचोल्दै उद्देश्य अनुसार स्वास्थ्य प्राबिधिक शिक्षाको अध्ययनमा अगाडी बढिरहेको छ तर बजेट अभावमा अपेक्षित काम हुन सकिरहेको छैन ।
संघिय अस्पताल डडेल्धुरा अस्पताल डडेल्धुराका श्रोतसाधन र पूर्बाधार संरचनालाई उपयोग गर्ने गरि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयको त्रिपक्षिय साझेदारीमा संचालन भएको सुदूरपश्चिमको पहाडी जिल्लाको एक मात्र मेडिकल कलेजमा बजेट अभावमा अपेक्षित प्रगति हुन नसके पनि डडेल्धुरा र सुदूरपश्चिमका पहाडी जिल्लाका लागि नयाँ आयाम र शैक्षिक पूर्बाधारको रुपमा स्थापित हुने दिशातर्फ उन्मुख भईरहेको छ ।
२०७८ साल माघमा मन्त्रीपरिषदको निर्णय सँगै स्थापना भएको स्वास्थ्य विज्ञान संकाय अन्र्तगत स्नातक तहमा एमबिबिएस अध्ययनका लागि स्वीकृति प्राप्त कलेजले बिएससि एमएलटि, बिपिएच, बिससि नर्सिङ विषय गरि हाल जम्मा सबै सेमिष्टर गरि ३९ जना बिद्यार्थीलाई अध्ययन गराई रहेको कलेजका डिन प्राध्यापक डा. हेमनाथ जोशीले जानकारी दिनु भयो ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला सेवा क्षेत्र तथा जीवनरेखाको रुपमा रहेको रहेको मेडिकल कलेज कमजोर पूर्बाधार र संरचनाको सामना गर्दै आफ्नो चार वर्षे अबधिमा उपयुक्त हावापानी र स्वच्छ वाताबरणमा अध्ययन गर्न गराउन सकिने पहाडको उपयुक्त स्थानमा रहेको डडेल्धुरा मेडिकल कलेजमा बजेटको अभावले प्राध्यापक तथा कर्मचारी जनशक्तिको अभाव, ल्याबमा पर्याप्त प्रबिधि र उपकरणहरुको अभाव, विद्यार्थी आवास तथा व्यवस्थापन अभाव चुनौतीपूर्ण रहेको छ ।
यस कलेजमा अध्ययन गरिरहेका ३९ जना मध्ये ९० प्रतिशत देशका विभिन्न जिल्लाका बिद्यार्थी रहेका छन जसमध्ये धादिङबाट डडेल्धुरा आईपुगेकि छात्रा सदिक्षा आचार्यका अनुसार डडेलधुरा नौलो ठाउँ भए पनि समग्रमा ठिकै छ तर ल्याब लगायत शिक्षको स्थायीत्वका सुबिधाको अभाव भएर अध्ययन प्रभावित नहोस भन्ने तर्फ सरोकारवालाको ध्यानकर्षण गराएका छन । उहाँसँगै अध्ययनरत विद्यार्थीले डडेल्धुराको भौगोलक अवस्था, सुन्दरता र हावापानीको प्रसंशा गर्दै भने एमबिबिएस अध्ययनको सैद्धान्तिक र प्रयोगात्मक पढाईका लागि हाल जे जस्तो शुरुवाती अवस्थामा ठिक भए पनि मेडिकल कलेजको संरचनागत अभाव रहेको र अझै सुबिधा सम्पन्न गराउन सके राम्रो हुने बताए ।
डिन जोशीका अनुसार पहाडको बसाई सराईले डडेल्धुरा अस्पतालमा हुन सक्ने विरामीको संख्या घटेमा मेडिकल कलेज प्रत्यक्ष प्रभावित हुने बताई रहँदा सरकारले मेडिकल कलेजको संबेदनशिलता र दिगोपनालाई ध्यान दिनु पर्ने जरुरी देखिएको बताउनु भयो ।
कोटा अनुसार बिद्यार्थी भर्ना रहेको, कलेजमा आधारभूत प्रयोगशाला पनि रहेको र प्रयोगात्मक अध्ययनका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा श्रोतसाधन पनि रहेको अवस्थामा मेडिकल कलेजको प्रस्तावित बिस्तृत परियोजना प्रतिवेदन बमोजिम काम अगाडी बढेमा मेडिकल कलेजले यस क्षेत्रको समग्र विकास प्रकृयामा समेत टेवा पुगाउने भएकाले स्थानीयबासी उत्साहित पनि भएका छन ।
राजनीतिक प्रतिष्ठा र चुनावी ऐजेण्डाको विषय बनाउँदै डडेल्धुरामा स्थापना भएको कलेजका लागि विनियोजन भएको ४२ करोड रकम फ्रिज हुँदा यसको पूर्बाधार निर्माण प्रभावित भएको हुँदा यस क्षेत्रका केन्द्रीय स्तर एवं शक्ति केन्द्रमा रहेका नेता तथा जनप्रतिनिधिहरुले यस विषयमा गम्भीर रुपमा सोच्नु पर्ने बेला आएको सरोकारवालाको भनाई छ ।
सुदूरपश्चिमको पहाडबाट बसाई सराई रोक्न र जनतालाई घरदैलौमै स्वास्थ्य सेवा सुबिधा प्रदान तथा स्वास्थ्य विज्ञान उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि कलेजको संभावना राम्रो भए पनि राज्यको स्पष्ट नीति र सकारात्मक सहयोग भए मात्र कलेजले मूर्त रुप पाउने देखिन्छ ।
कलेजले शैक्षिक सत्र २०८२/०८३ मा संचालन हुने गरि मेडिकल माईक्रोबाईलोजी विषय अध्ययनका लागि सम्बन्धित निकायबाट अनुमति प्राप्त गरे पनि त्यसका लागि पूर्बाधार तयार हुन केहि प्रशासनिक प्रकृया र आर्थिक कठिनाई रहेको समेत बताईएको छ ।
आधारभूत स्वास्थ्य विज्ञान अध्ययनका सुबिधासम्पन्न भवन, उपकरण, पुस्तकालय, संकाय भवनहरु, प्रशासनिक भवन, ल्याब लगायत मेडिकल कलेजका आधारभूत संरचना निर्माण सहितको चार अर्ब रकमको प्रस्तावित परियोजना यथाशिघ्र कार्यान्वयन हुनु पर्ने, तिन सय शैयाको अस्पताल र आवश्यक पूर्बाधार संरचना निर्माणका लागि डडेल्धुरा अस्पताललाई तयारी अवस्थामा राख्न पनि डडेल्धुराबासीले माग राखेका छन ।
डडेल्धुराको समग्र अर्थव्यवस्थालाई चलायमान बनाउन र डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका लागि भरपर्दो स्वास्थ्य संस्था एवं गौरब र पहिचानको संस्था भएकोले पनि यसको सर्बांिगण विकासमा यस क्षेत्रका सरोकारवालाको ध्यान जानु अपरिहार्य छ ।






